काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि जेनजी आन्दोलनका मागहरू बेवास्ता गरेको आरोप लगाएका छन्। उनले अर्याल अहिले सत्तारूढ नेकपा (एमाले) का गृहमन्त्रीजस्तै व्यवहार गर्न थालेको दाबी गरेका छन्।
बिहीबार नेपाल स्काउटको जग्गामा बनेका अवैध संरचना हटाउने क्रममा लैनचौर पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग भने, उहाँ जेनजी आन्दोलनको बलमा गृह मन्त्रालयसम्म पुगेका व्यक्ति हो। तर अहिले त्यही आन्दोलनमा सहभागी युवालाई पक्राउ गर्ने काम भइरहेको छ। यस्तो देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ।
गुरुङले गृहमन्त्री अर्यालको पछिल्ला अभिव्यक्तिहरूले पनि शंका उत्पन्न गरेको बताए। “गृहमन्त्री अर्याल अहिले लगातार ‘चुनाव–चुनाव’ मात्र बोलिरहनु भएको छ। तर जेनजीका मागहरू अझै सम्बोधन भएका छैनन्। माग पूरा नगरी कसरी चुनावमा जान सकिन्छ? उनले प्रश्न गरे।
उनका अनुसार जेनजी आन्दोलन केवल चुनावमा केन्द्रित नभएर देशमा न्याय र प्रणालीगत सुधारका लागि सुरु गरिएको अभियान हो। गृहमन्त्रीको एजेन्डा चुनाव मात्र होला, तर हाम्रो एजेन्डा न्याय हो देशले न्याय पाउनुपर्छ, गुरुङले भने।
गुरुङले थपे, जेनजी आन्दोलन समाप्त हुँदा जंगीअड्डादेखि राष्ट्रपति कार्यालयसम्मको वार्तामा गृहमन्त्री अर्याल नै मुख्य मध्यस्थकर्ता थिए। अहिले त्यही जिम्मेवारी बिर्सनु नै आन्दोलनप्रति धोका हो।
उनले गृहमन्त्रीलाई जेनजी आन्दोलनको मर्म र जनअपेक्षा बिर्सिन नहुने चेतावनी दिँदै सरकारलाई युवाहरूका आवाज सुन्न आग्रह गरे।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया