काठमाडाैं । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रूपमा साताको चार पटक हवाई उडान सुरु भएको बताए।
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि पाँच महिनादेखि जिल्लामा सातामा एकपटक बिहीबार मात्रै हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार भएपछि पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो। सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ।
निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि सात हजार ३०० रूपैयाँ भाडादर निर्धारण गरेको छ।
रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया