काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले मतदाता नामावली दर्ताको अवधि थप गर्न निर्वाचन आयोग र सरकारसँग आग्रह गरेका छन्।

उनका अनुसार देशका धेरै स्थानमा नाम दर्ता प्रक्रियामा ढिलाइ, लामो लाइन र प्राविधिक अव्यवस्थाका कारण नागरिकहरू समस्यामा परेका छन्। बिहीबार जारी भिडियो वक्तव्यमा उनले भने, फोटो खिचाउन र विवरण भर्न लामो समय कुर्नु पर्ने अवस्था छ। कतिपयले घण्टौँ पर्खिए पनि पालो नपाएर फर्किनु परेको छ।

advertisement

पौडेलले वर्तमान परिस्थितिमा धेरै नागरिक, विशेषतः जेन–जी पुस्ताका युवाहरू समेत दर्ता हुन नपाउने सम्भावना रहेको भन्दै कात्तिक मसान्तपछिसम्म अवधि बढाउन सुझाव दिएका छन्।

प्रचारमा भनिएजस्तो सहजीकरण भएको छैन, उनले भने, नाम दर्ताका लागि गएका नागरिकहरूले सहज रूपमा सेवा पाएका छैनन्। त्यसैले समय थप गरेर सबैलाई सहभागी हुन मौका दिनुपर्छ।

उनले दर्ता केन्द्रहरूमा काम छिटो र व्यवस्थित बनाउन, पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था गर्न पनि आग्रह गरे। छोटो समयमा धेरै काम पूरा गर्न व्यवस्थापन सुधार गर्न जरुरी छ, पौडेलले भने।

पौडेलले नागरिकलाई मतदाता नामावलीमा सहभागी हुन आग्रह गर्दै लोकतान्त्रिक अधिकार प्रयोग गर्न सबैले नाम दर्ता गराउनुपर्नेमा जोड दिए।

साथै, उनले मतदान प्रणालीलाई अझ समावेशी र सहभागितामूलक बनाउनका लागि मतदाता नामावलीमा दर्ता हुने न्यूनतम उमेर १६ वर्ष कायम गर्नुपर्ने र उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाउनुपर्ने सुझाव पनि दिए।

उनका अनुसार, बढीभन्दा बढी नागरिक सहभागी भए मात्र जनताले चाहेको सही नेतृत्व चयन गर्न सक्ने अवस्था बन्छ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com