काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह लगाएर प्रहरी प्रमुखको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेपछि उनी गृहमन्त्रीको कार्यकक्षमा पुगेका थिए।
भेटका क्रममा गृहमन्त्री अर्यालले कार्कीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। उनले नजिकिँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै शान्ति, सद्भाव र अमनचैन कायम गर्न प्रहरी संगठनलाई चुस्त र जिम्मेवार रूपमा परिचालन गर्न निर्देशन दिएका हुन्।
गृहमन्त्री अर्यालले भने, प्रहरीको मनोबल उच्च राख्दै निष्पक्ष र प्रभावकारी सुरक्षा संयन्त्र सुनिश्चित गर्नु अहिलेको प्राथमिकता हो।
जवाफमा आईजीपी कार्कीले सरकारको निर्देशनअनुसार जनताको ज्यान–धनको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्न पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रहरी संगठन सधैं कानूनी परिधिभित्र रही जनताको सुरक्षामा समर्पित रहने बताए।
सोही अवसरमा गृहमन्त्री अर्याल र आईजीपी कार्कीले जेन–जी आन्दोलनका घाइते दुई युवा र जेन–जी प्रतिनिधिसँग पनि भेट गरेका थिए। भेटमा घाइते युवाहरूले आफ्नो उपचारको स्थायी व्यवस्था र आन्दोलनका न्यायोचित मागहरू सम्बोधन गर्न सरकार र प्रहरी नेतृत्वसँग आग्रह गरेका थिए।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया