काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा भएको पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिने निर्णय आफ्नो राजनीतिक जीवनकै ठूलो गल्ती भएको बताएका छन् ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले युवापुस्ता अघि बढ्नुपर्ने सन्देश वर्षौंअगाडिदेखि दिँदै आए पनि त्यसको व्यवहारिक अभ्यास १४औं महाधिवेशनमा गर्न नसकेको बताए ।
‘२०६८ सालदेखि म पार्टीमा पुस्तान्तरणको कुरा गर्दै आएको मान्छे हुँ,’ थापाले भने, ‘तर १४औं महाधिवेशनमा देउवालाई फेरि सभापति बन्न दिनु र म आफैं महामन्त्रीमा उम्मेदवार बन्नु — त्यो मेरो ठुलो गल्ती भयो भन्ने अहिले स्पष्ट महसुस भएको छ।’
महामन्त्री थापाले पार्टीभित्र पुराना नेताहरूको ‘सिनियर संरचना’ भत्काउन नसकेको जिम्मेवारी पनि आफूले लिनुपर्ने बताए । उनले भने, ‘त्यो बेलासम्म पार्टीमा बाँध्ने पुराना जन्जिर भत्काउन सकिनँ, त्यसैले आज पनि पार्टी नयाँ दिशातिर अघि बढ्न सकेको छैन।’
थापाले २०७९ सालको स्थानीय तह निर्वाचनको प्रसङ्ग उठाउँदै सभापति देउवालाई गलत निर्णयले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको स्मरण गरे । ‘मैले त्यतिबेला नै भनेको थिएँ — एउटा पालिकामा गलत निर्णय भयो भने त्यसको प्रतिफल देशभरि भोग्नुपर्छ,’ उनले भने, ‘तर सभापतिले “मैले वाचा गरिसकेँ, अब परिवर्तन सम्भव छैन” भन्नुभयो, र त्यो निर्णयले हामीलाई ठुलो घाटा बेहोर्नुपर्यो।’
त्यसैगरी, २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको पक्षमा गएको निर्णय पनि गल्ती भएको उनको स्वीकारोक्ति थियो । उनले भने, ‘म त्यसबेला गठबन्धन नगर्नु पर्ने भन्ने पक्षमा थिएँ, तर अन्ततः गठबन्धन बनाएर चुनाव लडियो, म आफैं पनि लडें— र त्यो पनि गल्ती ठहरियो।’
थापाले प्रतिनिधिसभा निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णयको पनि विरोध गरेको बताए । ‘त्यो बेलै मैले कांग्रेस र एमालेबीच गठबन्धन गर्नु हुन्न, माओवादीलाई मत हाल्नु हुँदैन भनेको थिएँ,’ उनले स्मरण गरे, ‘तर त्यसको विरोधमा सडकमा नउत्रिनु पनि मेरो कमजोरी भयो, अहिले त्यसको पश्चात्ताप भइरहेको छ।’
थापाले अन्त्यमा भने, ‘हामीले हिजो गरेका गल्तीहरू स्वीकार गरेर मात्रै नयाँ सुरुवात गर्न सक्छौं। अबको कांग्रेस पुरानै बाटोमा हिँडेर होइन, नयाँ दृष्टिकोणसहित अघि बढ्नै पर्छ।’
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया