काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतको चुनावी गठबन्धन आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले २०७९ सालको निर्वाचनमा गठबन्धनसहित चुनाव लड्ने निर्णय गल्तीपूर्ण रहेको स्वीकार गरे।
महामन्त्री थापाले भने, ‘अर्को पार्टीलाई औपचारिक रूपमा भोट हाल्न लगाउने निर्णयमा सहमत हुनु मेरो भूल थियो। मैले सुरुदेखि गठबन्धन हुनु हुँदैन भन्ने धारणा राखेको थिएँ, तर अन्त्यमा पार्टीको निर्णय मानें — त्यो नै गल्ती भयो।’
उनका अनुसार, सभापति शेरबहादुर देउवा र बहुमत नेताहरूको दबाबमा अन्ततः गठबन्धन स्वीकार्नुपरेको थियो। ‘म लड्नुपर्थ्यो, अस्वीकार गर्नुपर्थ्यो, निर्णय गर्न नदिनुपर्थ्यो,’ उनले आत्मसमिक्षा गर्दै भने, ‘तर अन्ततः ‘पार्टीको निर्णय हो’ भनेर मानेँ, त्यसैमा गल्ती भयो।’
थापाले भने, ‘निर्वाचनअघि गरिएको गठबन्धन, त्यो पनि माओवादीसँग, हाम्रो पार्टीका तल्लो तहका कार्यकर्ता र समर्थकहरूको निष्ठा कमजोर बनाउने कारण बन्यो। कांग्रेसको वास्तविक समर्थकहरूलाई हामीले चिन्न सकेका छैनौँ।’
उनले पार्टीको संगठनात्मक कमजोरीतर्फ पनि इङ्गित गर्दै भने, ‘हाम्रा हजारौँ सदस्यहरू कहिल्यै पार्टीको झण्डा बोकेका छैनन्, लेभी तिरेका छैनन्, तर अन्त्यमा गएर रूखमा भोट हाल्छन् — त्यो पुस्तागत निष्ठा हो, जसलाई हामीले अझै जोगाउन सकेका छैनौँ।’
थापाले अन्त्यमा भने, ‘अब गल्ती दोहोर्याउने समय छैन। कांग्रेसले आत्ममूल्यांकन गरेर नयाँ बाटो रोज्नुपर्छ, नत्र पार्टीमा रहेको पुस्तागत निष्ठा पनि एकदिन हराउनेछ।’
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया