काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक गरेको छ।

क्यानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको टिकट दर र बिक्रीबारे आधिकारिक जानकारी दिएको हो।

advertisement

क्यानले खेलका विभिन्न चरण र सुविधाअनुसार टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ: साधारण र प्रिमियम। उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य रु. ५०० र प्रिमियम टिकटको मूल्य रु. १५०० तोकिएको छ।

साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट रु. ५०० मा उपलब्ध हुनेछ भने प्रिमियम टिकटको मूल्य रु. १००० रहनेछ।

प्लेअफ र फाइनल खेलका लागि भने टिकटको मूल्य बढाइएको छ। यी महत्वपूर्ण खेलहरूका लागि साधारण टिकट रु. १००० र प्रिमियम टिकट रु. २००० मा खरिद गर्नुपर्नेछ।

प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य रु. १५,००० तोकिएको छ।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ। दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट सुरक्षित गर्न सक्ने क्यानले जनाएको छ।

हाललाई प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com