काठमाडौं । पूर्वमन्त्री तथा नेता घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रतिनिधि सभा निर्वाचन रोक्ने मुख्य बाधकका रूपमा चित्रित गरेका छन्। उनका अनुसार अन्तरिम सरकारद्वारा तोकिएको निर्वाचन मिति सार्नुपर्ने वा स्थगित गर्नुपर्ने कुनै वस्तुगत कारण अहिले छैन।

अन्तरिम सरकार प्रमुख सुशीला कार्की नेतृत्वमा संसद् विघटनपछि गठन भएको थियो। उक्त सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। यद्यपि केही दलहरूले सरकार निर्वाचनका लागि आवश्यक वातावरण बनाउन असफल रहेको दाबी गर्दै आएका छन्।

advertisement

यसैबीच, एमालेले संसद् पुनःस्थापनाको एजेन्डा अघि सारेको छ भने कांग्रेसभित्र यस विषयमा मत विभाजन देखिन्छ। अन्य राजनीतिक दलहरू भने निर्धारित मितिमै निर्वाचनतर्फ अग्रसर छन्।

नेता भुसालले नेत्रविक्रम चन्द नेतृत्वको समूहसहित आफूहरू पनि निर्वाचनमा सहभागी हुने स्पष्ट पारे। पहिल्यै दर्ता भएको राजनीतिक दलका रूपमा प्रस्तुत हुँदै एजेन्डासहित मतदाताको बीचमा जाने बताए। उनका अनुसार निर्वाचन प्रक्रियामा अवरोध गर्ने एक मात्र व्यक्ति अध्यक्ष ओली हुन्, अन्य कुनै कारणले चुनाव रोकिँदैन।

उनले राजनीतिक दलहरूले प्रचार–प्रसार सुरु गरिसकेको अवस्थामा ‘लतारिएर भए पनि’ अन्ततः ओली निर्वाचनमा आउन बाध्य हुने टिप्पणी गरे। सरकारको तयारी, राजनीतिक माहोल र समग्र परिस्थिति हेर्दा चुनाव सार्नुपर्ने आवश्यकता नरहेको भन्दै भुसालले निर्वाचन समयमै हुने विश्वास व्यक्त गरे।

उनका अनुसार, ओली स्वभावतः सहजै निर्वाचनमा उत्रन नचाहे पनि जनचाप र राजनीतिक परिस्थिति मिलेसँगै उनलाई सहभागिताबाट पछि हट्ने विकल्प रहने छैन।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com