काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकारले लोकतान्त्रिक चरित्र धारण गर्न नसक्ने दाबी गरेका छन्। उनका अनुसार भदौ २३ र २४ गतेको विध्वंसपछि बनेको गैर–लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता अपेक्षा गर्नु नै गलत हुन्छ।

झापाका अगुवा कार्यकर्तालाई बिहीबार साँझ भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले यस्तो सरकारबाट ‘चुनाव गराउने नाटक’ हुनु देश र जनतामाथिको उपहास सरह भएको टिप्पणी गरे।

advertisement

उनले भने, ‘चुनाव मितिमा अब चार महिना मात्र बाँकी छ भनेर घोषणा गर्ने, तर नेताहरूमाथि स्थान हद लगाएर निर्वाचन क्षेत्र जान नदिने, मतदातासँग भेटघाट र प्रचारसमेत रोक्ने—यस्तो बन्देजबीच कसरी निष्पक्ष चुनाव हुन्छ? यो त जनता झुक्याउने खेलमात्र हो।’

ओलीले जेन–जी आन्दोलनका नाममा एमालेमाथि भएको आक्रमणलाई राष्ट्रियता, राष्ट्रहित र विकासका काममा एमालेले देखाएको सक्रियता कमजोर पार्ने नियोजित प्रयासको रूपमा व्याख्या गरे। यस्तो स्थितिलाई सामना गर्न एमाले सक्षम रहेको भन्दै उनले पार्टी संगठनलाई अझ परिचालित गरिने बताए।

समाजमा बढ्दो अव्यवस्था नियन्त्रण गर्न पार्टीले टोल–टोलमा सुरक्षा समिति गठन गरिरहेको जानकारी दिँदै उनले यी समितिहरूले स्थानीय आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, दोषीलाई प्रहरीसमक्ष बुझाउने र समुदायमा सुरक्षाभाव कायम गर्ने भूमिका निर्वाह गर्ने बताए।

अध्यक्ष ओलीले गैर–संवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापना अहिलेको मूल राजनीतिक एजेन्डा भएको उल्लेख गर्दै कार्यकर्तालाई यसका लागि दबाब सृजना गर्न सक्रिय हुन निर्देशन दिए। उनले प्रतिनिधि सभाको पुनर्स्थापना नै लोकतन्त्रलाई सही मार्गमा फर्काउने उपाय भएको बताए।

बैठकमा उनले कात्तिक २९ गते झापामा आयोजना हुने जागरण सभालाई भव्य बनाउन तयार रहन आग्रह गरे। केन्द्रबाट चलिरहेको जनपरिचालन अभियानसँगै जिल्लाले आफ्ना ठाउँमा निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिए।

बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३ र २४ का घटनापछि उत्पन्न परिस्थिति तथा क्षतिबारे अध्यक्ष ओलीलाई विस्तृत जानकारी गराएका थिए।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com