काठमाडौं । मधेस प्रदेशका चर्चित युवा सांसद रहबर अन्सारी, जो केही समयअघि मात्रै माओवादी केन्द्रभित्र ‘उदीयमान अनुहार’का रूपमा हेरिन्थे, अहिले पार्टी नेतृत्वसँग खुलेरै बागी बनेका छन्। प्रचण्डका नजिक मानािएका अन्सारीले पछिल्लो समय पार्टीभित्रको मनपरी, दलबदल र आदेशको राजनीति सहन नसकिएको भन्दै नेतृत्वमाथि खुलेआम टिप्पणी गर्दै आएका छन्।

अन्सारी माओवादीबाट निरन्तर अवसर पाउने नेतामध्ये थिए—स्थानीय तह चुनावमा वीरगञ्ज महानगरको मेयर उम्मेदवारी, त्यसपछि पर्सा–१(क)बाट प्रदेशसभा सदस्य, खुमलटारमा नेतृत्वसँग निकट सम्बन्ध। तर नेतृत्वको निर्णय–प्रक्रियामा आफूलाई ‘कसैको कठपुतली’ बनाउने प्रयास बढेपछि उनी आक्रामक रूपमा असन्तुष्ट बने।

advertisement

यसैबीच, मधेस प्रदेशका २५ दिने मुख्यमन्त्री जितेन्द्र सोनलका पक्षमा विश्वासको मत दिन अन्सारी र सांसद माला कर्णले अस्वीकार गरेपछि प्रचण्ड नेतृत्वले दुवैलाई पार्टी ह्वीप उल्लंघनको आरोपमा कारबाहीको तयारी गरेको छ। कात्तिक २२ गतेको प्रदेशसभा बैठकमा सत्ता पक्षमै रहेर पनि विश्वासको मत नदिने घोषणा गरेपछि सोनल सरकार ढल्यो। विश्वासको मत जुट्ने आधार कमजोर बनेपछि सोनलले स्वयं राजीनामा घोषणा गर्नुपर्यो।

पार्टीभित्रको असन्तुष्टि कात्तिक १७ गते नै उब्जिएको थियो, जब प्रचण्डले मधेस प्रदेश संसदीय दलमा भरत साहलाई पुनःस्थापित गरेयो निर्णयसँग अन्सारी र कर्ण खुलेरै असन्तुष्ट बनेका थिए।

रहबर अन्सारी विकास, सुशासन, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताका विषयमा सदनदेखि सडकसम्म निरन्तर बोलिरहने नाम हुन्। भ्रष्टाचार, कालोबजारी, बैंक तथा वित्तीय संस्थाको मनपरी ब्याज लगायत विषयमा उनी सधैं अग्रसर देखिन्छन्। माघ ५ गतेको प्रदेशसभा बैठकमा उनले मधेस प्रदेशलाई ‘भ्रष्टाचारीको रेड लाइन एरिया’ घोषणा गर्नुपर्ने कठोर टिप्पणी गर्दै राज्यलाई कडा कदम चाल्न चुनौती पनि दिएका थिए।

अब प्रचण्ड नेतृत्वले उनीहरूविरुद्ध अघि बढाएको कारबाही प्रक्रिया सार्वजनिक भएपछि माओवादी केन्द्रभित्र पुनः नयाँ हलचल सुरु भएको छ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com