काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल दर्ताका लागि निर्वाचन आयोगमा पेस गरिएको नामावलीबारे भ्रम फैलिन नदिन आग्रह गरेका छन्। उनले सबैलाई एकीकरण प्रक्रियामा अडिग रहँदै बाँकी कार्य छिटो सम्पन्न गर्न आह्वान गरेका हुन्।
संयोजक दाहालको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा आयोगमा बुझाइएका विवरणबारे अनावश्यक अड्कल–कसरत भइरहेको उल्लेख गर्दै त्यसमा स्पष्टता प्रदान गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन तयारी र समयसीमाको चापका कारण एकीकरणपूर्वका स्थायी समिति सदस्यहरूको सूची आयोगमा पेस गरिएको हो। कानुनअनुसार एक–तिहाइ महिला समावेश अनिवार्य भएकाले तत्काल कार्यालयमा उपस्थित रहेर हस्ताक्षर गरेको १३ जना महिला केन्द्रीय सदस्यका नाम त्यही सूचीमा समावेश गरिएको मात्र हो। यो कुनै नयाँ संरचना होइन। विधानअनुसारको संरचना एकीकरण प्रक्रियासँगै बन्नेछ।’
सचिवालयका अनुसार पार्टी संयोजक र सह–संयोजकबाहेक अन्य सबै पद तथा कमिटीहरू आपसी सहमतिका आधारमा गठन गरिनेछ। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समिति तथा सम्पूर्ण संगठनात्मक संरचना यही प्रक्रियाअनुरूप अन्तिम रूप पाउनेछ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जनभन्दा बढी वाम–समूहहरूको संयोजनमा नयाँ नेपाली कम्युनिस्ट पार्टी गठनको प्रक्रिया अघि बढिरहेको छ। आगामी फागुन २१ गतेको आम निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगले यही मंसिर ३० गतेभित्र दल दर्ता सकेर प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया