काठमाडौं । हालै रास्वपा परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीले पाँच बुँदे सहमति गर्दै नयाँ राजनीतिक मोर्चा निर्माणतर्फ कदम अगाडि बढाएका छन्।
देशमा फैलिँदै गएको आर्थिक–राजनीतिक सङ्कट, नातावाद, भ्रष्टाचार, बेरोजगारी र दलगत संरचनामा देखिएको व्यापक पतनविरुद्ध उत्पन्न जेन–जी आन्दोलनले तीनै पक्षलाई एउटै मोर्चामा ल्याएको दाबी उनीहरूको छ। सहमति पत्र सार्वजनिक गर्दै उनीहरूले अब एकताबद्ध भएर वैकल्पिक राजनीतिक शक्तिको निर्माणतर्फ अघि बढ्ने प्रतिवद्धता जनाए।
सहमति पत्रमा विगतका सबै मुक्ति आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म बलिदान भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा वेपत्ता सहभागीप्रति सम्मान व्यक्त गरिएको छ। साथै ती आन्दोलनहरूले देखाएको परिवर्तनको सपनालाई साकार गर्न संयुक्त प्रयास गर्ने उनीहरूको अठोट छ।
तीन पक्षबीच बन्ने नयाँ पार्टीको नाम र चुनाव चिन्ह एउटै राख्ने सहमति भएको छ। यसका लागि मङ्सिर ७ गते वृहत् एकता घोषणा सभा आयोजना गर्ने निर्णय गरिएको छ।
सहमति पत्रमार्फत देश–विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त तथा विशेषतः जेन–जी पुस्ताका युवालाई व्यापक राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ। भ्रष्ट, अनैतिक र अहंकारी राजनीतिक संस्कृतिलाई चुनावमार्फत परास्त गर्न वैकल्पिक शक्तिहरू र युवा पुस्ताबीच हातेमालो गर्न आग्रह गरिएको छ।
सहमतिमा दुर्गा सोव, सुदन किराँती र सन्तोष परियारका हस्ताक्षर छन्। उक्त छलफल तथा सहमति प्रक्रियामा जनार्दन शर्मा, डा. बाबुराम भट्टराईलगायतका नेता पनि सहभागी रहेका थिए।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया