काठमाडौं । नेपाली कांग्रेसभित्र उत्पन्न महाधिवेशन विवाद समाधान गर्न पार्टी कार्यसम्पादन समितिले चार शीर्ष पदाधिकारीलाई सहमतिमूलक प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको छ। शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख समन्वयकर्ता बनाउँदै, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सहकार्य गर्न निर्देशन दिएको हो।
असोज २८ गतेदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा बिहीबारसम्म नेता–कार्यकर्ताका धारणा सुन्ने कार्य पूरा भएको छ। भदौ २४ पछि बदलिएको राजनीतिक परिस्थितिमा फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने भन्ने विषय प्रमुख विवादका रूपमा उभिएको छ।
यसबाहेक, विशेष महाधिवेशनको मागसहित विभिन्न नेता तथा प्रतिनिधिहरूले अघि सारेको हस्ताक्षर अभियानले पार्टीभित्र थप ध्रुवीकरण ल्याएको छ। केही नेताहरूले यी मतभेदले कांग्रेस विभाजनको खतरा पनि सिर्जना गर्न सक्ने चेतावनी दिँदै आएका छन्। यही परिस्थितिलाई मध्यनजर गर्दै पार्टीले केन्द्रीय समितिको बैठक स्थगित गरी सहमति खोज्ने जिम्मा चार पदाधिकारीलाई दिएको हो। बैठक अब शनिबारसम्म सारिएको छ।
पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचाररत रहेकाले प्रमुख निर्णयमा उनीसँग निरन्तर परामर्श गरी अघि बढ्ने तयारी छ। सहमतिको मार्गबाट अघि बढ्ने उद्देश्यसहित क्रियाशील सदस्यता टुंगो लगाई पुस अन्तिम सातादेखि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गर्ने प्रयास भइरहेको नेताहरू बताउँछन्।
बैठकमा दुई फरक प्रस्ताव पनि राखिएका छन्—महामन्त्री गगनकुमार थापाले पुस १६ गतेदेखि १५औं महाधिवेशन सुरु गर्ने सुझाव दिएका छन् भने सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनपछि वैशाख अन्तिम सातामा महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेश गरेका छन्।
अब चार पदाधिकारीले तयार गर्ने सहमतिको प्रस्तावले नै कांग्रेसको आगामी यात्राको दिशा निर्धारण गर्ने देखिएको छ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया