काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा तोकिएको निर्वाचन निर्धारत मितिमै हुने पुनः पुष्टि गरेका छन्। दक्षिण कोरियामा रहेका नेपाली पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले सुरक्षा तयारीदेखि राजनीतिक सहमति सबै पक्षले चुनावलाई स्वीकार गरेका कारण वातावरण पूर्ण रूपमा तयार भएको बताए।
सञ्चारमन्त्री खरेलका अनुसार सरकारले भयरहित, मर्यादित र सहभागीमूलक निर्वाचनका लागि आवश्यक सबै संरचना बलियो बनाएको छ। “नेपाल प्रहरीको नयाँ नेतृत्वसँगै सुरक्षाको समग्र तयारी सुदृढ छ, उनले भने। कुनै पनि राजनीतिक दलले चुनाव बहिष्कार नगरेकाले निर्वाचन सहज हुने उनको दाबी थियो।
अन्तरिम सरकारको प्राथमिकतामा निर्वाचनसँगै सुशासन सुधार, भ्रष्टाचार नियन्त्रण, रोजगारी विस्तार र नवप्रवर्द्धन रहेको खरेलले स्पष्ट पारे। उनले एआई र डिजिटल रूपान्तरणलाई नेपालको भविष्यका रूपमा वर्णन गर्दै हाल स्थापना भएको राष्ट्रिय एआई केन्द्र तथा कोरियाबाट हासिल हुँदै आएको अनुभवले देशको डिजिटल आधुनिकतामा नयाँ गति दिने विश्वास व्यक्त गरे।
विदेशमा रहेका नेपालीको शान्ति, स्थिरता र सुशासन चाहनालाई सकारात्मक संकेत मान्दै उनले पाँच महिनाभित्र केही ठोस सुधार कार्यान्वयन गरिने बताए। साथै, निर्वाचन प्रणाली र शासकीय संरचनामा जेन्जी आन्दोलनले उठाएका मुद्दाअनुसार सर्वपक्षीय छलफल गरी सुधार गर्ने आश्वासन पनि दिए। विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढेको र आवश्यक परे अध्यादेशमार्फत व्यवस्था गरिने उनले स्पष्ट गरे।
दक्षिण कोरियासँग हवाई सम्पर्क विस्तारका विषयमा उनले नेपाल एयरलाइन्सको सिधा उडानका लागि पहल गर्ने जानकारी दिए। कार्यक्रमका सहभागी—गैरआवासीय नेपाली, पत्रकार र स्थानीय नेपाली समुदायले ऊर्जा, पर्यटन र अन्य क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन आग्रह गरे। सुशासन र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्नुपर्ने सुझाव पनि राखियो।
सिओलमा आयोजना भइरहेको ११औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन मन्त्री खरेल कात्तिक २५ गते दक्षिण कोरिया पुगेका हुन्, जहाँ कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय र एनआईएद्वारा संयुक्त रूपमा कार्यक्रम आयोजित गरिएको छ।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया