काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी अब नयाँ रूप रङ्गमा जनतामाझ प्रस्तुत हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले आफूविरुद्ध आएका विविध टिप्पणी र आलोचनालाई सम्मान गर्दै ती नै मार्गदर्शनका स्रोत भएको उल्लेख गरे।
खड्काले हाल देखिएको राजनीतिक प्रतिकूलता र पार्टीभित्रको संवेदनशील परिस्थितिले निर्णय प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै, ‘हतारको निर्णयले पछुताउने अवस्थाभन्दा पार्टी एकता र समन्वय प्राथमिक भए,’ भनेका छन्। उनले विगतका गल्ती र कमजोरी स्वीकार गर्दै जनतासँग माफी मागे र कांग्रेस फेरि पनि समाधानको नेतृत्व लिन सक्षम हुने विश्वास दिलाए।
साथै कार्यवाहक सभापति खड्काले सबै तह–तबरका नेताकर्मीसँग धैर्य र एकताको आग्रह पनि गरेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया