काठमाडाैं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेन–जी आन्दोलनका घटनापछि आफू सर्वस्वविहीन बनेको बताएका छन्। लमजुङको बेंसीशहरमा आयोजित जनसभामा बोल्दै उनले हाल लगाइरहेको कपडाबाहेक अरू केहीसमेत नबचेको पीडा व्यक्त गरे।
गुरुङका अनुसार भदौ २३ र २४ गते हिंसात्मक रूप लिएको जेन–जी आन्दोलनका बेला आफ्नै सरकारी तथा निजी निवासमा आगजनी हुँदा घरसँगै श्रीमती तथा बुहारीका सुनचाँदी गरी सबै सम्पत्ति नष्ट भएको हो।
‘मन्त्री पद मात्र खोसिएको होइन, हाम्रो पूरा जीवनभरको सम्पत्ति खेर गयो,’ उनले भावुक हुँदै भने।
आगोले घर जलेपछि आफू दिदीबहिनीको आश्रयमा बस्नुपरेको र उनीहरूले उपलब्ध गराएको थाल–कचौरामा दैनिक भोजन गर्ने अवस्था आएको पनि उनले बताए।
‘भैरवनाथ गणबाट निस्कँदा शरीरमा लागेको कपडाबाहेक केही थिएन,’ उनले स्मरण गरे।
गुरुङले आन्दोलनका समयमा एमालेका नेता तथा कार्यकर्ताहरूका घर–सम्पत्ति लक्षित रूपमा नष्ट गरिएको आरोप पनि लगाए। साथै, आफूमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोप निराधार भएको जिकिर गर्दै उनले भने, ‘मन्त्री हुँदा एक पैसा भ्रष्टाचार गरेको भए आमाको रगत खानु सरह हो भन्थेँ। आज पनि त्यो नैतिकता उस्तै छ।’
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको नारामा सुरु भएको जेन–जी आन्दोलन पछिल्लो समयमा व्यापक क्षतिसहित उग्र बनेको थियो।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया