काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको राजधानी सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। उनले कात्तिक २५ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फोरममा सहभागी हुन सिओल प्रस्थान गरेका थिए।

कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय (MSIT) र नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (NIA) को संयुक्त आयोजनामा सञ्चालित उक्त फोरममा ‘डिजिटल तथा एआई ट्रान्सफर्मेसन–रणनीति र चुनौती’ र ‘दिगो डिजिटल भविष्यका लागि वैश्विक सहकार्य’ विषयमा दुई सत्र सञ्चालन भएका थिए।

advertisement

मन्त्री खरेलले फोरम नेपालका लागि प्रभावकारी भएको बताउँदै डिजिटल नेपालका लक्ष्य, एआई ट्रान्सफर्मेसन, एआई नीति निर्माण तथा राष्ट्रिय एआई केन्द्र सञ्चालन जस्ता विषयमा फोरमबाट प्राप्त ज्ञान र अनुभव उपयोगी रहेको उल्लेख गरे।

समूहगत छलफलमा उनले नेपालका प्राथमिकता, सहकार्यका सम्भावना र साझेदार संस्थासँगको साझेदारीबारे धारणा राखेका थिए। साथै, कोरियाली सरकार तथा NIA ले नेपालसँग सहकार्य विस्तार गर्न इच्छाशक्ति व्यक्त गरेको समेत बताइएको छ।

सिओल बसाइका क्रममा मन्त्री खरेलले ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ अवलोकन गरे। उनले सिओलस्थित नेपाली दूतावासको पनि भ्रमण गरेका थिए। यसैबीच, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले नेपाली समुदायसँग साक्षात्कार कार्यक्रमसमेत आयोजना गरेको थियो।

फोरममा नेपाल, भूटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओस, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उजबेकिस्तानका मन्त्री तथा वरिष्ठ नीति–निर्मातासहित एसिया–प्रशान्त क्षेत्रका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता रहेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com