काठमाडौं । नेपाल–अस्ट्रेलिया कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले दुई देशबीचको ऐतिहासिक, गहिरो र बहुआयामिक साझेदारीबारे विस्तृत रूपमा प्रकाश पारिन्।

काठमाडौंको सोल्टी होटलमा नेपालस्थित अस्ट्रेलियाली दूतावासले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध केवल औपचारिक कूटनीतिक स्तरमै सीमित नभई पारस्परिक सम्मान, दिगो मैत्री र साझा लोकतान्त्रिक मूल्यमा आधारित रहेको बताइन्।

advertisement

प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिँदै जेन–जी आन्दोलनले देशको लोकतान्त्रिक यात्रामा नयाँ ऊर्जा भरेको उल्लेख गरिन्।
‘युवा पुस्ताले जवाफदेही र भ्रष्टाचारमुक्त शासनको माग गर्दै दिएको सन्देशले लोकतन्त्रलाई थप सबल बनाएको छ,’ उनले भनिन्।

उनले आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तय भएको जानकारी दिँदै आफ्नो सरकार त्यसका लागि आवश्यक तयारीमा जुटिरहेको बताइन्।

प्रधानमन्त्री कार्कीले सन् १९६० देखि सुरु भएको नेपाल–अस्ट्रेलिया मित्रता वर्षौंदेखि निरन्तर सुदृढ हुँदै आएको उल्लेख गरिन्।
शिक्षा, व्यापार, विकास सहयोग, स्वास्थ्य, सुशासन, ग्रामीण विकास तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा अस्ट्रेलियाबाट प्राप्त सहयोगप्रति उनले नेपाल सरकारको तर्फबाट आभार प्रकट गरिन्।

उनले नेपाल सन् २०२६ मा एलडीसी (अति कम विकसित देश) श्रेणीबाट बाहिरिने लक्ष्यतर्फ द्रुतगतिमा अघि बढिरहेको बताउँदै अस्ट्रेलियाको निरन्तर सहयोग ‘निर्णायक’ रहेको टिप्पणी गरिन्।

प्रधानमन्त्री कार्कीले अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरिरहेका तथा स्थायी रूपमा बसोबास गरिरहेका करिब दुई लाख नेपाली समुदायलाई ‘दुई देशबीचको सबैभन्दा जीवन्त सेतु’ को संज्ञा दिइन्।
उनका अनुसार हजारौँ नेपाली विद्यार्थीको शैक्षिक उपलब्धि र सीपले दुवै देशको विकासमा सकारात्मक योगदान पुर्‍याइरहेको छ।

पर्यटन, प्रविधि र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा अस्ट्रेलियाली लगानी बढिरहेको भन्दै प्रधानमन्त्री कार्कीले सहकार्यका नयाँ अवसरहरू खुल्न थालेको बताइन्।
जलवायु परिवर्तन, शान्ति स्थापना तथा मानवअधिकारका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल–अस्ट्रेलियाको साझा धारणा र समर्थनले दुई देशबीचको सम्बन्ध थप घनिष्ठ बनेको उनकाे भनाइ थियो।

समारोहलाई अवसर पार्दै प्रधानमन्त्री कार्कीले कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनको योगदानको विशेष प्रशंसा गरिन्।
‘नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ बनाउन उहाँले पु¥याउनुभएको योगदान अविस्मरणीय छ,’ उनले भनिन्।

उनले राजदूत जोन्स्टनलाई आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मजबुत रहने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com