गण्डकी ।  गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ । प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ ।

आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।

advertisement

जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेको र उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताउनुभयो । ‘आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ’, उनले भने, ‘किटानी जोहरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।’

प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ । कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सातवटा तोडफोड गरिएको र तीनवटा हराएका छन् । एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएका छन् । प्रदर्शनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए ।

 

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com