काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी अभियानका अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्ति निर्माणको आवश्यकता औँल्याउँदै समाजका चर्चित तथा प्रभावशाली व्यक्तित्वहरूलाई एउटै मोर्चामा उभिन सार्वजनिक आह्वान गरेका छन्। पार्टीप्रेमभन्दा देशप्रेमलाई प्राथमिकतामा राख्ने समय आएको उनको भनाइ छ।
गुरुङले सामाजिक सञ्जालमार्फत बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ, सागर ढकाललगायत जनताका मन जित्न सफल नेतृत्वकर्तालाई एक ठाउँमा आउने अपिल गरे।
हामी सम्पूर्ण नेपाली जनताकै एउटै चाहना छ— तपाईंहरू सबै एकताबद्ध भएर उभिनुहोस्,उनले भने।
उनका अनुसार जेनजी पुस्ता देशभर ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तहदेखि वडासम्म सङ्गठित भइसकेको छ। अब सबै पुस्तालाई जोड्ने उद्देश्यसहित चाँडै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी उनले दिए।
अभियानको दोस्रो चरणमा जनताले विश्वास गरेका सबै दायित्वबोध भएका व्यक्तित्वहरूलाई एकीकृत मोर्चामा ल्याउने लक्ष्य राखिएको गुरुङले बताए। गोरखाबाट सुरु भएर नेपाल निर्माण भएको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै उनले यसै गोरखा मन्दिरबाट आशीर्वाद लिएर अभियान सुरु गरिने पनि घोषणा गरे।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया