काठमाडौं । उपचारबाट फर्केपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद चिर्न फेरि सक्रिय कूटनीतिक पहल सुरु गरेका छन्। शुक्रबार राति सिंगापुरबाट काठमाडौँ फर्किएका देउवाले शनिबारै संस्थापन पक्षका चार शीर्ष नेतासँग सामूहिक छलफल गरेका हुन्।
देउवाको भाडाको निवास चुनदेवीमा शनिबार साँझ प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पुगेर भेटघाट गरेका थिए। जेनजी आन्दोलनका क्रममा घाइते हुँदै उपचाररत देउवाले स्वास्थ्य अवस्थाअनुसार पार्टीका विवादित मुद्दाहरूमा राय–विमर्श थालेका हुन्।
भेटमा सहभागी प्रवक्ता महतका अनुसार देउवाले पार्टीलाई आगामी निर्वाचनका लागि तयारी मोडमा लैजानुपर्ने धारणा राखे। ‘पार्टीको विवाद तपाईंहरूले मिलाउनुस् भन्ने आशय थियो,’ महतले बताए, ‘उनको कुरा सुन्दा चुनावपछि महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो देखिन्छ।’
कांग्रेसभित्र हाल महाधिवेशनको समयसूचीलाई लिएर दुई धार स्पष्ट बनेका छन्— चुनावअघि गर्नुपर्ने र चुनावपछि गर्नुपर्ने। संस्थापन पक्षका शीर्ष नेता चुनावपछि महाधिवेशन गर्दा उपयुक्त हुने पक्षमा छन्, भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा अडिग छन्।
यता, संस्थापनइतरका नेता डा. शेखर कोइरालाले चुनावभन्दा अघि नै नियमित महाधिवेशन गर्नुपर्ने जोड दिँदै आएका छन्। त्यहीबीच संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले भने चुनावअघि महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र समेत बुझाइसकेका छन्।
शनिबारको छलफल दुई घण्टाभन्दा बढी चलेको थियो। सभापति देउवाले अब पूर्वपदाधिकारी तथा संस्थापन पक्षमै रहेका २४ केन्द्रीय सदस्यहरूसँग छुट्टै भेटवार्ता गरेर पार्टीभित्रको मतभिन्नता समाधान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया