काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले कुनै पनि हालतमा निर्वाचन गराउने संवैधानिक अधिकार नरहेको दाबी गरेका छन्।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले वर्तमान सरकारलाई ‘असंवैधानिक र अनधिकृत’ ठहर गर्दै यस्तो सरकारबाट निर्वाचन सम्भव नै नसक्ने स्पष्ट पारे।

advertisement

ओलीले एमालेलाई चुनावबाट भाग्न खोज्यो भन्ने प्रचारको खण्डन गर्दै पार्टी सबैभन्दा ठूलो र व्यवस्थित शक्ति भएकाले निर्वाचनको पक्षमा नै रहने बताए। ‘हामी चुनावबाट भाग्ने पार्टी होइनौं,’ उनले भने, ‘तर निर्वाचन गराउने सरकार नै असंवैधानिक छ भने त्यसले कसरी राष्ट्रको भविष्य तय गर्ने अधिकार पाउँछ?’

देशभर ठूलो संख्यामा हतियार लुटिएको र कैदीहरू फरार भइरहेको अवस्थालाई एमाले अध्यक्षले गम्भीर चुनौतीका रूपमा ब्याख्या गरे। ‘यत्रो हतियार सडकमा छ, कैदीहरू जेलबाट बाहिर छन्। यस्तो सुरक्षा संकटमा चुनाव कसरी हुन्छ?’ उनले प्रश्न उठाए।

ओलीका अनुसार समाधान चुनाव होइन, पहिले विघटित प्रतिनिधि सभाको पुनःस्थापना हो। ‘असंवैधानिक निर्णयले विस्थापित संसदलाई पुनःस्थापना गर्नु नै अहिलेको मूल आवश्यकता हो,’ उनले भने, ‘मिडियाहरूले पनि देशप्रति जिम्मेवार भएर यही विषयलाई प्राथमिकतासहित उठाउनुपर्छ।’

ओलीले सबै राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई “तत्काल संसद पुनःस्थापनाको” मागलाई एकमुखी रूपमा अघि बढाउन आग्रह गरे।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com