चितवन । तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको बामपन्थी एकता प्रक्रियामा सहभागी नहुँदा आफ्नो राजनीतिक सक्रियता चितवनमा तीव्र बनाएका छन्।
आइतबार चितवनमा प्रगतिशील राष्ट्रिय अभियान नेपालको जिल्ला समिति औपचारिक रूपमा घोषणा गरिएको छ। अभियानको चितवन संयोजकमा दिपक शाही नियुक्त भएका छन्। शाही तत्कालीन माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय सदस्य हुन्।
अभियानमा प्रदेश सदस्य ऋषि चापागाईँ र भरतपुर महानगर उपाध्यक्ष पवित्रा रिजाल पनि सक्रिय सहभागी रहेका छन्। कार्यक्रममा अभियानका केन्द्रीय प्रतिनिधि सुदर्शन पौडेल उपस्थित थिए। पौडेल माओवादी द्वन्द्वकालमा चितवनको पहिलो ‘जनसरकार’ प्रमुख रहिसकेका छन् र हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।
सुदर्शन पौडेलले कार्यक्रममा भने, ‘आजदेखि चितवनमा हाम्रो अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दछौँ।’
चितवन संयोजक दिपक शाहीले भने, ‘हाम्रो उद्देश्य भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापना गर्नु हो। हामी एक व्यक्तिमा आधारित निरङ्कुश केन्द्रीयताबाट अलग, युगबोधअनुसारको नयाँ प्रकारको राजनीतिक दल निर्माण गर्ने लक्ष्यमा छौँ। नेतातन्त्रको अवसान गर्दै नयाँ पार्टी र शासन पद्धति विकास हाम्रो प्राथमिकता हो।’
चितवन प्रचण्डको गृह जिल्ला भएकाले यो अभियानमार्फत जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र र नयाँ एकीकृत पार्टीबाट अलग भएर आफ्नो सक्रियता र प्रभाव बढाउने रणनीति अघि सारेका छन्।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार











प्रतिक्रिया