ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध चलिरहेको ‘मानवता विरुद्धको अपराध’ सम्बन्धी मुद्दाको फैसला आज सुनाइने भएको छ। स्थानीय समयअनुसार सोमबार बिहान ११ बजे अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले फैसला सार्वजनिक गर्नेछ।
अभियोजन पक्षले तत्कालीन प्रधानमन्त्री हसिना र पूर्व गृहमन्त्री असदुज्जमां खान कमालविरुद्ध ‘अत्यधिक बल प्रयोगका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको’ अभियोगमा सर्वाेच्च सजाय-मृत्यु दण्ड-माग गरेको छ।
यसैबीच, बंगलादेश सर्वोच्च अदालतले सेनाको मुख्यालयलाई पत्र पठाउँदै अदालत परिसर तथा आईसीटीको सुरक्षालाई थप कडा बनाउन निर्देशन दिएको छ। निर्णयको संवेदनशीलता र सम्भावित प्रतिक्रियालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको बताइन्छ।
फैसला सुनाउने इजलासको सम्पूर्ण कारबाही प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि गरिएको छ। बंगलादेश टेलिभिजन (बीटीभी) ले लाइव प्रसारणमार्फत देशभरि फैसला देखाउने व्यवस्था मिलाएको छ।
गत वर्ष विद्यार्थी आन्दोलनलाई दमन गर्ने क्रममा सुरक्षा निकायमार्फत अत्यधिक बल प्रयोग गरियो र यसले नरसंहारको रूप लियो भन्ने आरोपमा हसिना र उनका नजिकका सहयोगीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो। हसिना अहिले भारतमा शरण लिएर बसिरहेकी छन्।
उनी र उनका कानुनी प्रतिनिधिहरूले भने यी सबै आरोप ‘राजनीतिक प्रतिशोध’ भएको दाबी गर्दै निरन्तर खारेज गर्दै आएका छन्। फैसला सार्वजनिक हुने दिन हसिनाका समर्थकहरू सडकमा उत्रिन सक्ने आकांक्षासँगै देशभर सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा राखिएको छ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया