काठमाडौं ।  गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा एसएसपी विश्व अधिकारीलाई  सिफारिस गरेको छ। २०८८/०८/०१ मा बसेको समितिको बैठक र प्रहरी नियमावलीको नियम २७ को उप-नियम (४) अनुसार उक्त सुचना सार्वजनिक गरिएको हो।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, हेटौंडामा कार्यरत एसएसपी विश्व अधिकारीलाई ७५.२७२४ प्रावधिक अङ्कका आधारमा डिआइजी पदका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

advertisement

बरियतामा पहिलो नम्बरमा रहेर पनि कार्तिक ९ मा ५ जना डीआईजी बढुवा हुँदा समेत नपरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले यो पटक भने न्याय पाएका छन्।

कार्तिक ९ मा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल नेतृत्वको बढुवा समितिले भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई बढुवा सिफारिस गरेको थियो ।

तर, एक नम्बर वरीयतामा रहेका अधिकारी बढुवाको सिफारिसमा परेनन्। २०८० वैशाख २४ मा भएको प्रहरी वरिष्ठ उपरीक्षकको बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । तर, बढुवा समितिले पहिलो नम्बरमा रहेका अधिकारीलाई छाडेर अरूलाई सिरियल नम्बरको आधारमा बढुवा गर्न सिफारिस गरेको थियो ।

भाद्र २३ र २४ मा भएको घटनाको विषयमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले घटनाबारे छानबिन गरिरहेको छ । जाँचबुझ रिपोर्ट नआउँदै अधिकारीलाई बढुवा समितिले नै अनुमानको आधारमा ‘दोषी’ करार गर्न खोजेको भन्दै चर्को आलोचना भएको थियो। पहिलो नम्बरमा रहेका अधिकारीको बढुवा रोक्ने षड्यन्त्र र अधिकारीमाथी भएको अन्याय बारे ग्लोबल नागरिकले समाचार प्रकाशन समेत गरेको थियो।

यससँगै डिआइजी पदका लागि अधिकारीको नाम सिफारिस भएको छ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com