एजेन्सी । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमनको क्रममा ‘मानवता विरुद्धको अपराध’ गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले सोमबार मृत्युदण्डको सजाय सुनाएको छ।
न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलास—सदस्यहरू मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी—ले उक्त फैसला सुनाएको हो।
मुद्दामा तत्कालीन प्रधानमन्त्री शेख हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षक विपक्षी रहेका थिए। इजलासले तीनै जनालाई दोषी ठहर गरेको छ।
अदालतले ठहर गरेको छ कि विद्यार्थी आन्दोलन दमन गर्न शेख हसिनाले सुरक्षा निकायलाई ड्रोनमार्फत प्रदर्शनकारीको खोजी र पहिचान गर्न अनुमति दिएकी थिइन्। साथै, प्रदर्शन भेला भएको स्थानमा हेलिकोप्टरबाट बम प्रहार गर्ने आदेश दिएकी पनि अदालतले पुष्टि गरेको छ।
यस प्रक्रियामा ५४ जनाको बयानलाई प्रमाणको रूपमा स्वीकार गरिएको अदालतले जनाएको छ। शेख हसिनाले अदालतको सुनुवाइमा उपस्थित हुन अस्वीकार गरेकी थिइन् र हाल उनी भारतमा बस्दै आएकी छिन्।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया