काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्ताका युवालाई शहरमै आन्दोलन गर्ने प्रवृत्ति त्यागी गाउँ फर्किएर नेतृत्वमा उभिन आग्रह गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले वर्तमान मागहरूको धेरैजसो मन्त्रालयको अधिकारक्षेत्रबाहिर रहेको जानकारी गराउँदै युवाहरूले अब आफ्नै राजनीतिक नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।
मन्त्री पुनले ‘मागहरू पूरा गरिदेऊ’ भन्ने मानसिकताले मात्र परिवर्तन नआउने बताए। उनले भने— ‘सबै माग तुरुन्तै पूरा गर्नुपर्ने हो भने, तिमीहरू नै चुनाव लडेर सरकार बनाउने बेला आएको छ। क्यामेरा अगाडि माग राख्दैमा काम हुने होइन, गाउँ–गाउँमा गएर नेतृत्व तयार गर्नुपर्छ।’
उनका अनुसार केही मागहरू सम्भव सीमाभित्र रहेकाले अध्ययन–विचार गर्न सकिने छन्, तर सबै माग तुरुन्तै पूरा गर्ने अवस्था सरकारसँग नभएको स्पष्ट पारियो।
जेनजी २.० ले १६ वर्षमै एसईई उत्तीर्ण गरी सीटीईभीटीमार्फत प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीका समस्याहरू एक साताभित्र समाधान गर्न मागसहित ज्ञापनपत्र बुझाएको थियो।
उनहरूको प्रमुख मागमध्ये यो वर्षको सीटीईभीटी छनोट प्रक्रिया तुरुन्तै सम्पन्न गरी करिब १० हजार विद्यार्थीलाई स्टाफ नर्स अध्ययनको व्यवस्था मिलाउनुपर्ने छ। माग पूरा नभए त्यसका लागि सीटीईभीटी नै जिम्मेवार हुने चेतावनी पनि उनीहरूले दिएका छन्।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार











प्रतिक्रिया