पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा राजतन्त्र पुनःस्थापनाको पहल अब गणतन्त्रवादी दलहरूकै भूमिकाबाट हुने दाबी गरेका छन्। पोखरा महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरूले चाहेको राजसंस्था राप्रपाको मात्रै नभई ‘देशको अभिभावक बन्ने प्रकारको’ हुने र त्यो कांग्रेस, एमाले र माओवादीजस्ता दलहरूले नै बोकेर ल्याउने परिस्थिति बन्ने दाबी गरे।
लिङदेनले जेनजी आन्दोलनताका उठेको राजतन्त्रसंम्बन्धी माग समय आएपछि मात्र अघि बढाउनुपर्ने भन्दै अहिलेको गणतान्त्रिक व्यवस्था राष्ट्रिय एकताको दृष्टिले असफल साबित हुँदै गएको आरोप लगाए। ‘राम्रै सोचले ल्याइएको गणतन्त्र आज असफल देखिएको छ,’ भन्दै उनले राजा, राजनीतिक दल र जेन्जीबीच सर्वपक्षीय संवाद गरी नयाँ, नेपालै सुहाउने संरचना निर्माण गर्नुपर्ने सुझाव दिए।
उनका अनुसार फागुन २१ मा घोषणा गरिएको निर्वाचनअघि नै देशले राजनीतिक निकास पाउनुपर्छ। ‘चुनाव हाम्रो प्राथमिकता होइन,’ उनले भने, ‘तर चुनाव भयो भने पनि राप्रपा एक राष्ट्रिय पार्टीका रूपमा सहभागी हुनेछ।’
केन्द्रीय समिति बैठकमार्फत थप रणनीति तय गर्ने जानकारी दिँदै लिङदेनले उचित तयारी भए राप्रपा नै देशको पहिलो दल बन्न सक्ने दाबी पनि गरे। पार्टीभित्रकै कतिपय नेताले राप्रपालाई मत नदिएको आरोप लगाउँदै उनले अहिले गाउँघरमा कांग्रेस, एमाले र माओवादीजस्ता दलहरूप्रति व्यापक असन्तुष्टि देखिएका कारण राप्रपाप्रति आकर्षण बढिरहेको दाबी गरे।
“गाउँ–गाउँमा गणतन्त्रवादी दलहरूको पकड कमजोर भइसकेको छ। जनताले नयाँ विकल्प खोजिरहेका छन्, र त्यो ठाउँ अहिले राप्रपाले पाएको छ,” लिङदेनको भनाइ छ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया