काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार साँझ बालुवाटारमा काठमाडौं उपत्यकाका नगर प्रमुखहरूसँग बैठक गरी निर्वाचन तयारीदेखि फोहोर व्यवस्थापन, सुरक्षा चुनौती र विकास निर्माणका मुद्दामा छलफल गरेकी छन्। अधिकांश मेयर सहभागी रहे पनि काठमाडौं महानगरका प्रमुख बालेन शाह भने अनुपस्थित रहे।
बैठकमा मेयरहरूले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, दलीय सरकारले गर्न नसकेका साहसी निर्णयहरू गैरदलीय सरकारले गर्नुपर्ने माग गर्दै स्थानीय तहले सामना गरिरहेका समस्याहरूको सूची प्रधानमन्त्रीसमक्ष राखे।
सबैभन्दा प्रमुख रूपमा मेयरहरूले उपत्यकाको फोहोर व्यवस्थापन र सडक बत्ती महसुलको विवाद हल गर्न आग्रह गरे।
ललितपुरका मेयर चिरिबाबु महर्जनले सडक बत्तीको ६० प्रतिशत खर्च स्थानीय तहले र ४० प्रतिशत संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्न प्रस्ताव गरे।
टोखाका मेयरले टोखा–छहरे सडक विस्तारका लागि मुआब्जाको निर्णय चाँडो गर्न माग गरे। चाँगुनारायणका मेयरले सल्लाघारी–नगरकोट सडक निर्माण गतिशील बनाउन अनुरोध गरे। कीर्तिपुरका मेयरले बसपार्क र अस्पतालका लागि त्रिवि परिसरको जग्गा उपलब्ध गराउन आग्रह गरे।
“सरकारको मुख्य ध्यान अहिले निर्वाचनमा” प्रधानमन्त्री कार्की
गुनासा र सुझाव सुनेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको पहिलो प्राथमिकता आगामी निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्नु रहेको बताइन्।
उनले भनिन्, अब चुनावी आचारसंहिता लागू हुँदैछ। मेयरहरूले उठाउनुभएको मुद्दामा कति गर्न सकिन्छ, हेरिनेछ।
साथै, उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति युवाबीच बढ्दो असन्तुष्टि बुझ्न आवश्यक रहेको उल्लेख गरिन्।
उनका अनुसार, विगत ३०–३५ वर्षदेखि एउटै शैलीको शासनले युवामा वितृष्णा बढेको छ। प्रविधिसँगै हुर्किएको पुस्ता पुरानो ढाँचाबाट सन्तुष्ट छैन। युवालाई अघि बढ्ने अवसर दिनुपर्छ।
प्रधानमन्त्रीले समस्याबाट अलग नभई मिलेर समाधान खोज्दै अघि बढ्नुपर्ने धारणा राखे।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया