काठमाडाैं । नेकपा (एमाले) को विघटित संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने भएको छ। निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले विघटित प्रतिनिधि सभाका सबै सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन अनुरोध गरेको छ।
बर्तौलाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाबारे निर्देशनात्मक मन्तव्य दिने जानकारी दिए। उनका अनुसार प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा पार्टीले लिनुपर्ने आगामी रणनीति, मुलुकको बदलिँदो परिस्थितिमा सांसदहरूले खेल्नुपर्ने भूमिका तथा साझा धारणा निर्माणबारे विस्तृत छलफल हुनेछ।
एमाले सचिवालय र केन्द्रीय कमिटीले प्रतिनिधि सभा पुनःस्थापनेसम्बन्धी दबाब निर्माण गर्न जनपरिचालन अभियान अघि बढाउने निर्णय गरिसकेको छ। सोहीअनुसार वडा, पालिका र जिल्ला तहमा प्रदर्शनहरू पूरा भइसकेका छन्। तर यस मुद्दामा पार्टी अदाला्तमा भने गएको छैन।
यसबीच, पुनःस्थापनाका लागि नेपाली कांग्रेससँग सहकार्य खोजिएको भए पनि कांग्रेसले उक्त पहलमा सहभागी नहुने स्पष्ट गरिसकेको छ। सोमबार सभामुखसँगको भेटमा कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले सो विषयमा पार्टीभित्र मतभिन्नता भए पनि औपचारिक रूपमा पुनःस्थापनाको पक्षमा नजाने निर्णय लिइसकिएको बताएका थिए।
कांग्रेसको असहयोगपछि एमालेले अब कुन बाटो रोज्ने भन्ने निष्कर्ष आजकै संसदीय दल बैठकले निकाल्ने नेतृत्व तहका स्रोतले बताएका छन्।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया