काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले म्याद लिने तयारी गरेको छ। उनी सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट मध्यराति पक्राउ परेका हुन्।
प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया सुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। यसका लागि आवश्यक कागजात तयार गर्ने काम तीव्रगतिमा भइरहेको परिसराज्ञाले जानकारी दिएको छ।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले हालसालै सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिहरू शान्ति–सुरक्षामा प्रत्यक्ष असर पर्ने किसिमका रहेका कारण सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप्न लागिएको हो।
एसपी भट्टराईले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा उहाँले बोलेका कुरा सार्वजनिक शान्तिमा खलल पुर्याउने प्रकृतिका देखिन्छन्। त्यसअनुसार म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।’ प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दै तयारी तीव्र पारेका थिए। सोही भनाइ र गतिविधिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयोजनमा उनलाई पक्राउ गरिएको हो।
हाल प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ। मध्यराति भएको गिरफ्तारपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ।प्रसाईं पक्राउपछि उनका समर्थक तथा ‘नागरिक बचाउ दल’ ले विरोध प्रदर्शन गर्नसक्ने अनुमान गर्दै उपत्यकामा सुरक्षा उच्च सतर्कतामा राखिएको छ।
उपत्यका प्रहरी कार्यालय, रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रहरी परिसरलाई विशेष सतर्क रहन निर्देशन दिँदै सडकमा सुरक्षाकर्मीको तैनाथी बाक्लो बनाएको छ।
प्रसाईं पक्राउलगत्तै नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रदर्शनको चेतावनी दिएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया