काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनतर्फ अघि बढेमा पार्टीलाई फुटको जोखिमबाट बचाउन सकिने बताएका छन्। उनका अनुसार यस्तो कदमले पार्टीभित्र एकता मजबुत बनाउनेछ।
मंगलबार बिहान काठमाडौंको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा पुगेका युवा कार्यकर्तासँगको भेटमा संस्थापनइतर पक्षका नेता कोइरालाले पार्टीलाई संकटबाट निकाल्ने उपायका रूपमा विशेष महाधिवेशन आवश्यक हुन सक्ने धारणा राखे।
भेटमा सहभागी नेता भुवन भट्टका अनुसार कोइरालाले नियमित महाधिवेशन मंसिरमा सम्भव नभए पुस अन्त्यसम्मै गर्ने प्रयास हुनुपर्ने बताए। ‘यदि नियमित महाधिवेशनै सम्भव भएन भने केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा होइन, पूर्ण सहमतिको आधारमा निर्णय गरेर विशेष महाधिवेशनतर्फ जानुपर्छ,’ भट्टले कोइरालाको भनाइ उद्धृत गर्दै भने।
उनका अनुसार यसरी सहमतिमा गएर विशेष महाधिवेशन आयोजना गर्न सके कांग्रेसलाई आन्तरिक विभाजनबाट जोगाउन र पार्टीभित्र एकताको वातावरण बनाउन मद्दत पुग्ने कोइरालाको विश्वास छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया