काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न माग गरेको छ।
प्रसाईंले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको आधारमा प्रहरीले उनलाई गएराति भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। तर राप्रपाले यस कदमप्रति खेद व्यक्त गर्दै सरकारले फरक विचारलाई दबाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएको छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भने, ‘अभिव्यक्ति दिएकै आधारमा प्रसाईंलाई मध्यरातमा निजी निवासबाट पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ। यसबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति देखाएको प्रमाणित हुन्छ।’
विज्ञप्तिमा सरकारले तुरुन्त र बिना शर्त प्रसाईंलाई रिहा गर्न गम्भीर ध्यानाकर्षण गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रहरीका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्यादका लागि हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, कम्तिमा पनि ४ दिन प्रसाईं हिरासतमा रहनेछन्।
प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गर्दै तयारी तीव्र पारेका थिए। तर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक शान्तिमा खलल पुग्ने सम्भावनाका आधारमा उनलाई पक्राउ गरेको बताइएको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार











प्रतिक्रिया