काठमाडाैं । कुनै बेला राज्यसत्ताविरुद्ध हतियार उठाएको र निर्वाचनलाई खारेज गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी अब औपचारिक रूपमा संसदीय राजनीतिको मैदानमा प्रवेश गरेको छ।
एक दशक लामो भूमिगत र सशस्त्र राजनीतिको अध्यायलाई पन्छाउँदै विप्लवले आफ्नो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराएका छन्। त्यो पनि ‘गुलाब’ जस्तो शान्तिपूर्ण फूललाई चुनाव चिह्न बनाएर।
सोमबार बाजागाजासहित निर्वाचन आयोग पुगेका विप्लवले हातमा गुलाबको फूल बोकेर ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ को दल दर्ताको प्रमाणपत्र बुझे।
प्रमाणपत्र बुझेपछि उत्साहित मुद्रामा देखिएका विप्लवले यसलाई नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानको सुरुवात भएको घोषणा गरे। उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो। भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं।’
विगतमा जनतालाई सशस्त्र क्रान्तिका लागि आह्वान गर्ने विप्लवले अब जनताको मतबाटै परिवर्तन सम्भव देख्न थालेको सुनाए। ‘जनता नै इतिहासको निर्माता हुन्’ उनले भने, ‘आज पनि जनतामा, भोलि पनि जनतामा। जनताले जुन बाटोबाट परिवर्तन सम्भव देख्छन्, हामी तयार छौं।’
साथै, उनले चुनावमा जानका लागि ‘राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार’ को सर्त अघि सारेका छन्। यस्तो सरकार बनेमा मात्र सबै दललाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने उनको दलको निष्कर्ष रहेको उनले सुनाए।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया