काठमाडौं । ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कठोर असन्तोष व्यक्त गरेका छन्। उनले उग्र र काटमार प्रवृत्तिका अभिव्यक्ति दिने व्यक्तिहरू खुलेआम सरकारलाई चुनौती दिँडदा पनि गृह प्रशासन मौन बस्नु चिन्ताजनक भएको बताए।

गुरुङका अनुसार सरकारले ‘सानालाई ऐन, ठुलालाई चैन’ को नीतिलाई व्यवहारमै लागू गरेको छ। शान्तिपूर्ण विरोधमा उभिएका युवामाथि लक्ष्य गरेर गोली चलाउनेहरूलाई कारबाही गर्ने साहस गृहमन्त्रीले देखाउन नसकेको आरोप उनले लगाए।

advertisement

फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा गुरुङले लेखेका छन्, ‘दुर्गा प्रसाईँभन्दा पनि उग्र र भड्काउ अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडिरहेका छन्। शान्तिपूर्ण युवामाथि गोली चलाउनेहरू पनि यिनै समूहका हुन्। तर गृहमन्त्रीमा तिनलाई पक्राउ गरी छानबिन–कारबाही गर्ने हिम्मत देखिँदैन।’

गृहमन्त्री अर्याललाई प्रश्न उठाउँदै उनले लेखेका छन्, ‘आफूलाई संविधानविद् भन्नेहरूलाई सोध्नुस्, संविधानको कुन धारामा ‘सानालाई ऐन, ठुलालाई चैन’ लेखिएको छ? विधिको शासन नै लागू नहुने हो भने पुरानो शासन र अहिलेको बीच के फरक रह्यो, गृहमन्त्रीज्यू?’ शक्तिशाली व्यक्तिहरू खुलेआम ‘लोप्पा खुवाउने’ शैलीमा हिँडिरहँदा गृह मन्त्रालय मौन बस्नु अस्वीकार्य भएको टिप्पणी गर्दै उनले थपे, ‘त्यो लोप्पा स्वीकार्दै कुर्सीमा अडिग रहने कुरा गृहमन्त्रीज्यू, कत्तिको सुहाउँछ?’

गुरुङले मृतक तथा घाइतेको न्याय सुनिश्चित नगरी चुनाव सम्भव नहुने पुनः दोहोर्‍याउँदै सबै नागरिकका लागि समान न्यायको प्रत्याभूति पहिलो पूर्वशर्त भएको जिकिर गरे।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com