काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजिकका केन्द्रीय सदस्यहरू आज आन्तरिक रणनीतिक छलफलमा जुट्न लागेका छन्। भोलि दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकअघि देउवा समर्थकहरूबीच पूर्व–समन्वयका लागि बानेश्वरमा बैठक आयोजना गरिएको हो।

आज बिहान ११ बजे देउवा पक्षका सदस्यहरू भेला भएर केन्द्रीय समिति बैठकका एजेन्डा र रणनीतिमा व्यापक छलफल गर्ने तयारी छ।

advertisement

गत शनिबार पनि देउवा समूहले छलफल गरेको थियो, जहाँ करिब ८० केन्द्रीय सदस्यहरू सहभागी भएका थिए। कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय भए पनि देउवा निकट २५ सदस्य भने उक्त छलफलमा अनुपस्थित रहेका थिए। आजको छलफलमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको उपस्थिति रहने छैन।

महाधिवेशनको समय तालिका: कांग्रेसभित्र विवाद चुलिँदै

कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरु भएको थियो। यसबीचमा नेताहरूले क्रमशः आफ्ना धारणा राखिसकेका छन्। महाधिवेशनसम्बन्धी संवेदनशील विषयमा सर्वसम्मति बनाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठकलाई अस्थायी रूपमा स्थगित गरेर अनौपचारिक संवाद अघि बढाएका थिए।

सभापति देउवाले पनि पार्टी एकता कायम राख्दै अघि बढ्नुपर्ने धारणा नेताहरूसमक्ष राखिरहेका छन्।

तर विशेष महाधिवेशन पक्षधर समूहले दबाब बढाउँदै विभिन्न कार्यक्रम घोषणा गरिरहेको छ। करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने, केन्द्रीय कार्यालय घेराउ गर्ने लगायतका कार्यक्रम तयारीमा छन्।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com