काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सम्पूर्ण ओटिटि प्रसारण अधिकार पाएको डिश मिडिया नेटवर्कले डिस हाेम गाे प्लेटफर्ममार्फत सबै ३२ खेल एक्सक्लुसिभ रूपमा लाइभ स्ट्रिमिङ गर्न तयारी पूरा भएको घोषणा गरेको छ। प्रतियोगिता १६ मंसिर २०८२ सम्म कीर्तिपुरस्थित ट्यु क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
क्यान बाट प्राप्त ओटिटि अधिकार अनुसार एनपीएल दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण केवल डिस हाेम गाे एप र वेबसाइटबाट हुनेछ। यो सिजनका खेल युट्युब वा अन्य ओटिटि प्लेटफर्ममा उपलब्ध नहुने डिश मिडियाले जनाएको छ। खेलहरु विज्ञापनविहीन ‘क्लिन फिड’ मार्फत प्रसारण गरिनेछ।
दर्शकले ई-सेवा, खल्ति, भिसा र मास्टर कार्डबाट भुक्तानी गरेर सिजन पास खरिद गर्न सक्नेछन्। नेपालभित्रका दर्शकका लागि शुल्क रू ३००, मध्यपूर्व क्षेत्रका लागि रू ५०० र अन्य देशका दर्शकका लागि यूएस डलर १० निर्धारण गरिएको छ। एकपटक सब्सक्रिप्शन लिएपछि सम्पूर्ण खेल, पुनःप्रसारण र अन्य सामग्री हेर्न सकिनेछ।
डिस हाेम गाे मोबाइल (एन्ड्राेइड र आईओएस), एन्ड्राेइड टिभी र वेब ब्राउजरमार्फत उपलब्ध छ। नयाँ प्रयोगकर्ताहरूका लागि एप गुगल प्ले स्टाेर र एप स्टाेरमा डाउनलोड गर्न सकिनेछ।
उच्च गुणस्तरको स्ट्रिमिङका लागि डिस हाेम गाे ले अन्तर्राष्ट्रिय ओटिटि सेवा प्रदायक माेबाेटिक्स र विश्वविख्यात सिडिएन प्रदायक आकामाईसँग सहकार्य गरेको छ। यी प्रविधि साझेदारहरूले उच्च रेजोलुसन स्ट्रिमिङ र ठूलो ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।
डिस मिडिया नेटवर्कका अनुसार, लोकप्रिय डिजिटल भुक्तानी माध्यम तथा विश्वभरबाट एक्सेस हुने प्लेटफर्ममार्फत नेपाली क्रिकेटलाई ग्लोबल स्तरमा पुऱ्याउने लक्ष्य राखिएको छ। एनपीएल प्रति देश–विदेशमा देखिएको चासो सकारात्मक रहेको व्यवस्थापनले जनाएको छ।
आधिकारिक सूचनामा एनपीएल दोस्रो संस्करण केवल डिस हाेम गाे एप वा डिस हाेमको वेबसाइटबाट मात्र हेर्न सकिने र अन्य कुनै ओटिटि प्लेटफर्ममा उपलब्ध नहुने उल्लेख गरिएको छ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












प्रतिक्रिया