काठमाडौं । गृह मन्त्रालयले बाराको सिमरामा बुधबार नेपाल एमालेका कार्यकर्ता र जेनजी युवाहरूबीच भएको भिडन्तप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका सह–प्रवक्ता रविन्द्र आचार्यका अनुसार स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन र त्यहाँको वातावरण शान्त बनाउन आवश्यक कदम चालिरहेको छ। हाल त्यहाँको अवस्था क्रमशः सामान्य बन्दै गएको पनि मन्त्रालयले जानकारी दिएको छ।

बुधबार जारी एक विज्ञप्तिमा मन्त्रालयले कुनै पनि कार्यक्रम आयोजना गर्नु अघि स्थानीय प्रशासनसँग समन्वय गर्न सबै पक्षलाई आग्रह गरेको छ। सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै, त्यसका लागि सबै बीच संवाद, समन्वय र सहयोग अनिवार्य रहेको उल्लेख गरिएको छ।

advertisement

‘शान्तिपूर्वक भेला हुने र विचार व्यक्त गर्ने संवैधानिक अधिकारको अभ्यासमा सबै पक्षले संयमता, समझदारी र सहकार्य देखाउनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

बुधबार एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता सिमरामा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन तयारीमा थिए। तर उनीहरूको आगमनको जानकारी पाएपछि स्थानीय जेनजी युवाहरूले विमानस्थल क्षेत्रमा नै विरोध प्रदर्शन सुरु गरे। त्यसपछि तनाव बढ्दै जाँदा एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएको थियो।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com