काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू कुनैपनि निर्वाचनमा नउठ्ने स्पष्ट घोषणा गरेकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलहरूसँगको छलफलपछि समापन मन्तव्य दिँदै उनले झापाबाट चुनाव लड्न आग्रह आएको सुनिए पनि आफ्नो त्यस्तो कुनै योजना नरहेको बताइन्।
उनका शब्दमा, ‘झापामा आएर चुनाव लड्नू भनेर भनिएको सुनेकी छु, तर म चुनाव लड्दिनँ। म यहाँ चुनाव लड्न आएको होइन।’
कार्कीले वर्तमान सरकारको प्रमुख उद्देश्य निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने नै भएको उल्लेख गर्दै चुनावपछि देशको नेतृत्व क्षमता, भिजन र ऊर्जा भएको नयाँ पुस्ताले सम्हालोस् भन्ने आफ्नाे चाहना व्यक्त गरिन्।
उनले धेरै पैसा खर्च नगरी, स्वच्छ प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट हुने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै भनिन्, ‘कम खर्चमा चुनाव लड्न सक्ने व्यवस्था बनोस् भनेर हामी प्रयासरत छौं।’
देशमा बढ्दो असन्तोष, भ्रष्टाचार, निराशा, आक्रोश र विस्फोटक अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले अब ती समस्यालाई नियन्त्रण गरेर स्थिरता कायम गर्नुपर्ने आवश्यकता जोड दिइन्।
कार्कीले पद, सुविधा वा विशेषाधिकारको मोहले होइन, देश गम्भीर संकटमा परेको बेला केही योगदान गर्न सकिन्छ कि भन्ने सोचले जिम्मेवारी स्वीकार गरेको बताउँदै भनिन्, ‘मलाई प्रधानमन्त्री भएको गर्व पनि छैन। अहिलेको बिग्रिएको अवस्थालाई केही भए पनि सुधार्न सकिन्छ कि भन्ने भावनाले हामी आएका हौं।’
उनका अनुसार सरकार निर्वाचनसम्बन्धी सबै आवश्यक प्रक्रिया अघि बढाइसकेको छ, र तोकिएको समयमा चुनाव सुनिश्चित रूपमा हुनेमा आफू विश्वस्त रहेको पनि उनले प्रष्ट पारेकी छन्।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












प्रतिक्रिया