काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेस प्रदेशको ताजा राजनीतिक घटनाक्रमले पार्टीलाई गम्भीर धक्का पुगेको टिप्पणी गरेका छन्। हालै सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनु र होटलमै शपथ लिएका मुख्यमन्त्री सरोज यादवको पद संवैधानिक परीक्षणको चरणमा पुग्नु एमालेका लागि ठूलो राजनीतिक संकेत भएको उनको भनाइ छ।

भट्टराईका अनुसार यी घटनाहरूले मधेसमा एमाले फेरि एक्लिएको अवस्थालाई उजागर गरेको छ।

advertisement

उनले २०७२ असोज ३ गते संविधान जारी भएपछि मधेस प्रदेशमा एमाले निरन्तर आक्रमणको निशानामा परेको स्मरण गरे। पार्टी कार्यालयदेखि नेता–कार्यकर्तासम्म भौतिक आक्रमण भएका बेला मधेसको नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको निरन्तर प्रयासका कारण नै पछिल्लो निर्वाचनमा एमालेले उल्लेख्य प्रगति गरेको उनको दाबी छ।

प्रतिनिधिसभामा प्रत्यक्ष १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो दल बन्न सफल भएको तथ्य उनले जोड दिए। उनले भने, ‘अन्तिम घडीमा प्रभु साहले घात नगरेको भए र उम्मेदवार छनोटमा अझ ध्यान दिएको भए परिणाम अझ राम्रो हुन्थ्यो।’

उनका अनुसार मधेसमा पार्टीको पुनरुत्थानको मुख्य श्रेय अध्यक्ष केपी शर्मा ओलीको सूक्ष्म नेतृत्व र संगठन व्यवस्थापनलाई जान्छ। भट्टराईले १५ महिनासम्म मधेस प्रदेश इन्चार्जको रूपमा काम गरेको अनुभव उल्लेख गर्दै संगठन व्यवस्थापन, प्रदेश र जिल्ला अधिवेशन, सदस्यता प्रणाली र जनसंगठनमा प्रभावकारी प्रगति भएको जानकारी दिए।

जातीय विभेद, महिला हिंसा, दलितमाथिको विभेद तथा वर्गीय उत्पीडनविरुद्ध एमालेले उठाएका सामाजिक न्याय र समानताको एजेन्डाले मधेसमा जनआधार विस्तारमा भूमिका खेलेको उनको भनाइ छ।

त्यस्तै भूमिगतकालमै मधेसका आधारभूत वर्गहरूले एमालेप्रति देखाएको बलियो समर्थन स्मरण गर्दै उनले त्यसका लागि ईश्वर पोखरेलजस्ता नेताहरूको योगदानलाई उल्लेखनीय बताए।

भट्टराई भन्छन्, ‘मधेस प्रदेशको संसदीय फाँटमा आज एमालेलाई ठूलो धक्का लागेको छ। प्रदेश प्रमुख बर्खास्त भएका छन्, सभामुख पदमुक्त भएका छन्, पार्टीको सार्वजनिक छवि नै प्रश्नमा परेको छ।’

मुख्यमन्त्रीको पदसमेत अब अदालतमा परीक्षणमा रहेको उल्लेख गर्दै उनले पार्टीभित्र अन्तरविरोध बढिरहेको, राजनीतिक रूपमा एमाले एक्लिंदै गएको र नेतृत्व तहमै भएको ‘खेलवाड’ का कारण यस्तो अवस्था आएको प्रश्न उठाए।

पार्टीको ‘सोसल अडिट’ आवश्यक भएको बताउँदै भट्टराईले मधेसमा जनआधार विस्तार, आन्तरिक एकता मजबुत बनाउने, सामाजिक छवि सुधार्ने र नयाँ नेतृत्वसहित पुनर्संरचना गर्न आवश्यक रहेको निष्कर्ष निकाले। उनी भन्छन्, ‘यी सबै विषयमा गम्भीर समीक्षा अपरिहार्य छ। यसबारे पार्टी अध्यक्षले विशेष ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com