काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। सूचना टाँसेरै तीन पटक सारिएको बैठक बिहीबार पनि नबस्ने भएको हो।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ सूचना जारी गर्दै बैठक मंसिर ६ गते, शनिबार दिउँसो १ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने जानकारी दिएका छन्। उनले पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेका छन्।
असोज २८ गतेदेखि जारी कार्यसमिति बैठकमा गत बिहीबारसम्म पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने प्रक्रिया सकिएको थियो। त्यसपछि महाधिवेशनको मिति टुंग्याउने उद्देश्यले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनौपचारिक छलफलमार्फत सहमति खोज्ने प्रयास गरेका थिए।
शुक्रबारदेखि निरन्तर सरिरहेको बैठक शनिबार, सोमबार हुँदै बिहीबार सम्मका लागि पटक–पटक स्थगित गरिए पनि कुनै सहमति नजुटेपछि अन्ततः अर्को सूचना जारी गर्दै बैठक शनिबार गर्ने निर्णय गरिएको हो।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया