हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले भारत नेपालका लागि विपद् व्यवस्थापनदेखि पूर्वाधार विकाससम्म एक विश्वासिलो साझेदार भएको बताएका छन्। उनले भारतले नेपालको पूर्वाधार, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा निरन्तर सहयोग पुर्याउँदै आएको बताए।
बिहीबार हेटौँडामा आयोजित भारतले आपत्कालीन प्रयोगका लागि प्रदान गरेको बेली ब्रिज हस्तान्तरण समारोहमा मन्त्री घिसिङले बोले, ‘भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायात पहुँच विस्तार गरेको छ र लाखौँ नागरिकलाई सेवा, बजार र अवसरसँग जोडेको छ।’
उनले थपे, ‘पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको छ।’
भारतीय एक्जिम बैंकमार्फत प्रदान गरिएका उदार ऋण सुविधाअन्तर्गत सञ्चालित सडक र पुल निर्माण परियोजनाहरूले दुर्गम क्षेत्रको पहुँच सुधार्न, क्षेत्रीय कनेक्टिभिटी बढाउन र राष्ट्रिय यातायात सञ्जाललाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
मन्त्री घिसिङले भने, ‘भारतले उपलब्ध गराएका परियोजनाहरूले केवल आर्थिक वृद्धिलाई गति दिएनन्, हाम्रा राष्ट्रबीच जनस्तरको सम्बन्धलाई पनि गहिरो बनाएको छ। सीमापार रेल सञ्जाल, विशेषगरी जनकपुर–कुर्था–बिजलपुर–बर्दिबास लाइन र जोगबनी–विराटनगर कोरिडोर क्षेत्रीय एकीकरणको कोसेढुंगा हुन्।’
भूकम्पपछिको पुनर्निर्माणमा भारतले गरेको द्रुत सहयोगको स्मरण गर्दै उनले भने, ‘सडक, पुल र सार्वजनिक पूर्वाधारको पुनर्निर्माणमा भारतको सहयोगले नेपालको पुनः प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएको छ।’
मन्त्री घिसिङले सडक र यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माण जस्ता सामाजिक क्षेत्रमा पनि भारतको सहयोगले देशभर सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उनले भविष्यमा हरित पूर्वाधार, जलवायु–उत्थानशील यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्य गर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा उपस्थित नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भने, ‘बेली ब्रिज हस्तान्तरणले लामो समयदेखिको भारत–नेपाल विकास सहयोगको प्रतिबिम्ब प्रस्तुत गर्छ। भारत नेपालका लागि आवश्यक पर्दा कुनै पनि माध्यमबाट सहयोग गर्न सधैं प्रतिबद्ध छ।’
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया