काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुन नदिने बताएका छन् । कांग्रेसभित्रको संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग शुक्रबार बिहान भएको भेटमा उनले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै बुझाएको हस्ताक्षर अनुरूप यस्तो वातावरण सिर्जना हुन नदिने बताए।
भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाका अनुसार, कार्यवाहक सभापतिले हस्ताक्षर भेरिफिकेसन प्रक्रियाबाट विशेष महाधिवेशन हुने अवस्था आउन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए। राणाले भने, ‘उहाँले पार्टीमा अल्पमत–बहुमतको विभाजन अवस्था आउन नदिई सहमतिभित्रै अगाडि बढ्ने वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको बताउनुभयो।’
संस्थापन समूहका ती २५ सदस्यले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए। उनीहरूले उक्त माग पूरा गर्न दबाब दिने क्रममा खड्कासँग भेट गरी विशेष महाधिवेशन हुँदा पार्टी विभाजनको जोखिम हुनसक्ने चेतावनी दिएका थिए। जवाफमा खड्काले पार्टीलाई फुटको अवस्थामा पुग्न नदिने दाबी गरेका छन्।
यसअघि पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद समाधानका लागि १५औँ महाधिवेशनको प्रक्रिया मंसिरमा सुरु गर्ने र सकभर पुस मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको थियो। खड्कालाई उक्त प्रस्ताव जानकारी गराएपछि उनले पार्टी एकताको पक्षमा रहने पुष्टि गरेका थिए।
भेटपछि उक्त प्रतिनिधिमण्डलले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेट गरेका थिए। उनीहरूले पनि पार्टीलाई फुटबाट बचाइ सहमतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया