सिन्धुपाल्चोक । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मुलुकलाई निरन्तर नियन्त्रित अस्थिरतामा धकेलेको आरोप लगाएका छन्।
शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न आजपा जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, ‘प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको भावना र मागलाई कुल्चिन् भने एमाले नेतृत्वले सत्ताको दुरुपयोग गर्दै आन्दोलनलाई निर्दयी रूपमा दबायो। दुवै जनाले जेन–जी युवाहरूको संघर्षमाथि गम्भीर धोका पुर्याए र अहिले नियन्त्रित अस्थिरताको वातावरण चाहेका छन्।’
साहले भदौ २३ गतेको जेन–जी आन्दोलनको समयमा तत्कालिन प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङको भूमिका परीक्षण गर्नुपर्ने बताए। उनले २४ भदौमा सडकमा जबरजस्ती उपस्थित हुनेहरूको गतिविधि हेर्दा आन्दोलन युवाहरूको बलमा भएको जनविद्रोहको अपहरण भएको स्पष्ट देखिएको दावी गरे।
गृहमन्त्री अर्यालको कार्यक्षमतामा पनि प्रश्न उठाउँदै अध्यक्ष साहले भने, ‘यस्तो गृहमन्त्री भएकाले मुलुकमा शान्ति र सुरक्षाको वातावरण निर्माण हुन सक्दैन।’ उनले आयोगको सीमित कार्यक्षमता र दोषीहरूसँग बयान नलिने स्थितिलाई समेत उद्धृत गर्दै आयोगलाई निकम्मा ठहराए।
पूर्वमन्त्री साहले जेन–जी आन्दोलनको दमनमा संलग्न तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीसँग किन बयान नलिइएको भनेर प्रश्न उठाउँदै, रास्वपाका सभापति रवि लामिछानेले जेलबाट निस्किएपछि पनि सरकारले बयान नलिनु निन्दनीय भएको बताए।
बाराको सिमरामा जेन–जी युवाहरू शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरी प्रशासनले कुटपिट गरेको घटनालाई उद्धृत गर्दै साहले सरकारलाई चेतावनी दिंदै भने, ‘यस्ता घटनाहरू दोहोरिन दिन हुँदैन।’
साहले जेन–जी आन्दोलनपश्चात अवसरवादीहरूले चुनावमात्र ध्यानमा राखेर दल खोलिरहेको विषयमा पनि कडा टिप्पणी गरे। उनका अनुसार यस्ता अवसरवादीहरूले देश र जनताको हितलाई बुझ्न सकेका छैनन्।
उनीहरूले एमाले अध्यक्ष केपी ओलीमाथि पनि आरोप लगाए कि ओलीको नेतृत्वमा देश मुठभेड र अस्थिरताको दिशामा जान सक्ने खतरा कायम छ। साहले ओलीले जेन–जी आन्दोलनमा दमन गर्दै पार्टीको शक्ति दुरुपयोग गरेको र दिनप्रतिदिन नयाँ नाटक मञ्चन गरेको टिप्पणी गरे।
बैठकमा आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सहअध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, वागमती प्रदेश इन्चार्ज धनकुमारी मगर, वागमती प्रदेश अध्यक्ष पासाङ तामाङ, सचिवालय सदस्यहरू सुभाष साह, रन्जु साह, सिमा जैसवाल, बिन्दा कटुवाल, अन्जना तामाङ, सुनिता तामाङ, सुमन गुरुङ, कोशिला देवी साह लगायतको उपस्थिती रहेको थियो।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया