काठमाडौं । काठमाडौं महानगरपालिका–२६ अन्तर्गत नयाँ बसपार्क क्षेत्रमा शनिबार एक महिलाको शव भेटियो। सुरुमा उक्त शव तेस्रोलिंगी व्यक्तिको हुनसक्ने अनुमान गरिएको थियो। तर, त्रिवि शिक्षण अस्पतालमा गरिएको प्रारम्भिक परीक्षणपछि शव महिलाको भएको पुष्टि भएको छ।
शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति उदयपुरका सूर्य मगर रहेको प्रहरीले जनाएको छ। नयाँ बसपार्क नजिकै सडक किनारामा तन्नामा बेरेर फालिएको अवस्थामा भेटिएको शवको पहिचान खुलाउने प्रक्रिया जारी छ।
प्रारम्भिक अनुसन्धानअनुसार सूर्य मगर बसपार्कस्थित एक होटलमा भान्सेका रूपमा काम गर्दै आएका छन्। उनले मृतक महिलालाई पाँच सय रुपैयाँ सापटी दिएको र सो रकम फिर्ता माग्दा विवाद उत्पन्न भएपछि हत्या गरेको प्रहरीको दाबी छ। अनुसन्धान अधिकृतका अनुसार सूर्यले महिलाको घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्।
पक्राउ परेका युवकले महिलाले आफूसँग बोल्दा आफ्नो घर रुकुम भएको बताएको बयान दिएका छन्। तर, मृतकको वास्तविक पहिचान खुल्न बाँकी रहेको काठमाडौँका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिउँसो पत्रकार सम्मेलन गरेको छ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












प्रतिक्रिया