काठमाडौं । मिराज ढुंगानासहित ३० बढी जेनजी समूहले सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मागपत्र बुझाउन जेन-जीका विभिन्न समूह सिंहदरबार पुगेको भए पनि प्रवेश अनुमति नपाउँदा उनीहरूले दक्षिण गेटमै मागपत्र टाँसेर फर्किनु परेको छ। मिराज ढुंगाना, रविकिरण हमाल लगायतका जेन-जी अगुवाहरूले मागपत्र बुझाउन खोजेका थिए।
जेन-जीका नेताहरूले आफ्नो विद्रोह केवल ०८४ सालको निर्वाचन ०८२ सालमा सार्नको लागि नभई भ्रष्टाचार, कुशासन र अस्थिर राजनीतिक व्यवस्थाविरुद्ध भएको बताए।
उनीहरूले निर्वाचन आयोगमा दर्ता भएका दल, विघटित प्रतिनिधिसभाका सांसद तथा मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्न र उच्च पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसमक्ष माग गरेका छन्।
जेन-जीका ३० बढी समूहले प्रधानमन्त्री कार्की सरकार आफूहरूको माग पूरा गर्न असक्षम भएको निष्कर्ष निकालेको पनि बताएका छन्। उनीहरूले ७ दिनको अल्टिमेटम दिँदै, माग बेवास्ता भए सरकार गठनमा भएका गल्तीको माफी माग्दै पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन्।
विद्रोहमा होमिएका युवाविरुद्ध षड्यन्त्र र दमन प्रयास भइरहेको जेन-जीले आरोप लगाउँदै आफ्नो माग सरकारसँग अगाडि बढाउन जोड दिएका छन्।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












प्रतिक्रिया