काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता बनेर इतिहास रच्न सफल नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएकी छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद विश्वमञ्चमा नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै प्रशंसा गरेकी हुन्।
हालै श्रीलंकामा सम्पन्न प्रतियोगितामा प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोली दोस्रो भएको थियो।
खेलाडीहरूको हौसला बढाउँदै प्रधानमन्त्रीले भनिन्, ‘यो नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय हो। यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त नतिजा हो। तपाईँहरू हरेक खेलाडी र अफिसियल यसको जस पाउनका लागि हकदार हुनुहुन्छ।’
उनले आगामी दिनमा अझै कडा मेहनत गरेर विश्व च्याम्पियन बन्ने लक्ष्य राख्न समेत टोलीलाई आग्रह गरिन्।
भेटमा खेलाडी तथा अफिसियलहरूले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई जितेर फाइनलसम्म पुगेको र सरकारको साथ पाए च्याम्पियन नै बन्न सक्ने बताएका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नै पहलमा खेलाडीले देखाएको प्रतिभा सह्राहनीय रहेको बताइन्। उनले भनिन्, ‘आफ्नै पहलमा यहाँहरूले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सह्राहनीय छ। त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ। सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायहरूसँग छलफल गर्छु।’
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार













प्रतिक्रिया