काठमाडौं । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भन्दै विभिन्न जेनजी समुहले गम्भीर आपत्ती जनाएको छ।

राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको जेनजीहरुको ठहर छ।

advertisement

यता, प्रधानमन्त्री कार्कीलाई ३० बढी प्रमुख जेनजी समुहले सामुहिक मागपत्र बुझाउन खोज्दा प्रधानमन्त्री कार्कीले इन्कार गर्दै आइरहेकी छन् भने प्रहरीले जेनजीहरुमाथी धरपकट बढाएको छ।

सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि उनको मन्त्रीपरिषद्मा रहेका पदाधिकारीहरुले गरेका क्रमिक दुराचार र गैरजिम्मेवार निर्णयहरूले यो सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको पुष्टि गरिदिएको भन्दै सरकारको चौतर्फी आलोचना सुरु भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँको राष्ट्रिय नोक्सानी हुनेगरी भारतसँग कमिसनमुखी विद्युत् सम्झौता गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ताले १६-१७ वर्षका किशोरीहरुलाई बेहोस बनाएर डिम्ब बिक्री गराउने संगठित समूहलाई कानुनी उन्मुक्ति दिएको, गृहमन्त्री ओम प्रकाश अर्यालले आफ्ना काकालाई डीआईजी बनाउन दरबन्दी थप गरेको तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफन्तलाई सचिवालयमा नियुक्ति गरेको घटनाले कार्की नेतृत्वको सरकार आफै भ्रष्टाचारको केन्द्रविन्दु बनेको भन्दै चर्को आलोचना सुरु भएको छ।

यी भ्रष्टाचार जन्य सबै गतिविधिमा प्रधानमन्त्रीकै पूर्ण संलग्नता र संरक्षण रहेको भन्दै जेनजीहरुले प्रधानमन्त्री कार्कीको राजिनामाको माग गरेका छन्।

जेन्जी विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद, घाइतेहरु र न्याय तथा परिवर्तनको आकांक्षा बोकेका सिङ्गो नेपाली जनताप्रति गम्भीर अपमान गर्ने कार्य यही सरकारबाट निरन्तर भइरहेको र यो सरकार झन भ्रष्टाचारमा लिप्त भएको भन्दै जेनजीहरुले विकल्प खोज्ने बताएका छन्।

न्यायालयभित्र आफ्ना कार्यकर्ता भर्ती गरी पवित्र संस्थालाई तहसनहस बनाउने, त्यसपछि कार्यपालिकामा बसेर देशलाई थप संकट, अराजकता र अस्थिरतामा धकेल्ने कृत्यमा सुशीला कार्कीको समूह निरन्तर लागेको भन्दै कार्की नेतृत्वको सरकारको राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेका जेनजी समुहले जनाएको छ।

जेनजी आन्दोलनका प्रमुख जेनजी समुहहरुले सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न चेतावनी दिएको छ।

जेन-जी विद्रोह नेपाली समाज र राजनीतिमा वषौंदेखि जरा गाडेका भ्रष्टाचार, नातावाद/कृपावाद र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको स्मरण गराउँदै कार्की नेतृत्व सरकारको भ्रष्टाचार जन्य गतिविधिको जेनजीहरुले घोर भर्त्सना गरेका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com