दाङ । दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाभर खेतीयोग्य जमिन ३९ हजार ४०० हेक्टर रहेकामा यस वर्ष ३६ हजार ४८१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो।

advertisement

गत वर्ष जिल्लामा ३६ हजार १०८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएकामा एक लाख ७८ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो।

त्यस्तै, २०८० सालमा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट एक लाख ५८ हजार ३२८ मेट्रिकटन धान उत्पादन भएको कार्यालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ।

सूचना अधिकारी लामिछानेका अनुसार उत्पादन बढ्नुमा धानखेती यस वर्ष धेरै क्षेत्रफल जमिनमा लगाउनु, बीउमा सुधार, ढिलो वर्षा भए पनि लगातार वर्षा हुनु र पछिल्लो समयमा धानबाली स्याहार गर्ने बेला परेको पानीले खासै धानखेतीमा असर नगरेकाले उत्पादन बढेको हो।

त्यस्तै, विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मलको उपलब्धतामा सहजता, हाइब्रिड र उन्नत जातको बीउको प्रयोग धैरै भएकाले उत्पादन बढेको हो।

कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष हाइब्रिड बीउ ६५ प्रतिशत, ३५ प्रतिशत उन्नत र पाँच प्रतिशत स्थानीय रैथाने जातको धान रोपिएको थियो। सबैभन्दा धेरै युएस ३१२, एआरआई ६४४४, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७, उपज, राजा, क्याम्पियन जातको हाइब्रिड धान रोपिएको थियो।

त्यस्तै, उन्नततर्फ सावाँ मन्सुली, हर्दिनाथ ६, रामधान, राधा–४, सुक्खा–१, २, ३, ४, गङ्गोत्री, सावित्रीलगायतका जातका धान लगाएको थियो। त्यसैगरी दाङको स्थानीय रैथाने धानमा तिल्की र सिम्ठारो धान पनि खेती गरिएको थियो।

यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष देउखुरी क्षेत्रका लमही, गढवा र राप्ती गाउँपालिकाका किसानहरुले उत्पादन गरेको धान खरिद सुरु गरेको छ। कार्यालयका प्रमुख तुलमायाँ लोवाले जिल्लाका स्थानीय तहबाट ५०० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए।

  • रासस

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com