सुनसरी ।  कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् । आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् ।

जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ । छावाको जन्म भएको आज ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको छ ।

advertisement

‘शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन् । उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ’, प्रमुख यादवले भने ।

यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ । आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन् । नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ । आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्‍याउँदै आएका आरक्ष कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com